जनकराज शर्मा
यो देशमा गरिब हुनु आज अपराधजस्तै बनाइएको छ । जसको हातमा राज्यसत्ता छ, उसैले आज गरिबको न्यानो सिरानी खोसेर खुला आकाशमुनि फ्याँकिदिएको छ । वर्षौंदेखि पसिना, अभाव र भोकसँग युद्ध गर्दै टिनका टहराभित्र सानो संसार सजाइरहेका सुकुम्बासीहरूमाथि जब डोजर गर्जियो, तब केवल घरहरू भत्किएनन ,हजारौं सपना चकनाचुर भए, हजारौं बालापन टुक्राटुक्रा भए, हजारौं आशा माटोमा गाडिए । एउटा टहरा केवल टिन र काठको थुप्रो होइन । त्यो गरिब आमाको ममता हो, दिनभरि मजदुरी गरेर फर्किएको बुबाको थकाइ बिसाउने सहारा हो, चिसो रातमा बच्चाहरूलाई ओत दिने न्यानोपन हो । त्यही आश्रयमाथि राज्यले निर्दयी भएर डोजर चलायो । मानौँ यो देशमा सबैभन्दा ठूलो अपराध गरिब भएर जन्मिनु हो ।
२७०० भन्दा बढी घरटहरा भत्किँदै गर्दा कति वृद्ध बाबुआमा आफ्नै आँखा अगाडि जीवनभरको संघर्ष धुलोमा मिलेको हेरेर भक्कानिए । कति सुत्केरी आमाहरू बच्चालाई छातीमा च्यापेर चिसो सडकमा रात काट्न बाध्य भए । कति बालबालिका आफ्नो च्यातिएको किताब, पुरिएको कापी र भत्किएको झोलामाथि बसेर निसास्सिएर रोइरहे । कसैले उनीहरूको आँसु गनेन । कसैले उनीहरूको पीडा सुनेन । डोजरको आवाजले उनीहरूको चिच्याहटलाई कुल्चिरह्यो ।
त्यो दृश्य केवल संरचना भत्किएको दृश्य थिएन, त्यो राज्यको मानवता मरेको दृश्य थियो । त्यो गरिबमाथि गरिएको राज्य प्रायोजित निर्ममता थियो । जहाँ महलभित्र बस्नेहरू विकासको भाषण गरिरहेका थिए, त्यही बेला खुला आकाशमुनि एउटा बालक आफ्नो घरको भग्नावशेष समातेर सोधिरहेको थियो । हाम्रो दोष के थियो ?
राज्यले विकासको नाममा गरिबको आश्रय कुल्चियो, तर विकल्प दिएन । पुनर्स्थापनाको व्यवस्था गरेन । कुनै सुरक्षित बासको ग्यारेन्टी गरेन । केवल डोजर पठायो । केवल आतंक पठायो । मानौँ गरिबको भावना, सपना र जीवनको कुनै मूल्य नै छैन । आज आएर अदालतले रोक्न आदेश दिएको छ । तर प्रश्न अझै जिउँदै छ । हजारौं सपना ध्वस्त भइसकेपछि आएको आदेशले के ती बालबालिकाको रोदन फर्काउन सक्छ ? भत्किएको टहरासँगै पुरिएका उनीहरूको भविष्य फिर्ता ल्याउन सक्छ ? चिसो रातमा खुला आकाशमुनि काँपिरहेका ती वृद्धहरूको आँसु पुछ्न सक्छ ?
गरिबको झुपडीमाथि चलेको डोजर केवल एउटा मेसिन थिएन, त्यो राज्यको कठोर मुटुको प्रतीक थियो । इतिहासले यो दिनलाई सम्झिरहनेछ । त्यो दिन, जब सत्ताले शक्तिको उन्मादमा गरिबको आश्रमाथि युद्ध घोषणा गर्यो । त्यो दिन, जब बालबालिकाका सपनाहरू डोजरको फलाममुनि चिच्याइरहे । त्यो दिन, जब न्याय धेरै ढिलो गरी ब्यूँझियो । सायद भोलि फेरि नेताहरू विकासका ठूला भाषण गर्लान फेरि मानवताको नारा लगाउलान् । तर खुला आकाशमुनि आँसु सुकाइरहेका ती सुकुम्बासीहरूले भने सधैं सम्झिरहनेछन,यो देशमा कुनै समय यस्तो शासन पनि थियो, जहाँ गरिबका सपना डोजरले च्यातिन्थे, अनि राज्य मौन बसेर हेर्थ्यो !




