काठमाडाैं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभकामना सहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा (Loan Against Bullion) प्रदान गर्ने भएको छ। नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदी प्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको तथा सुनचाँदी गहना मात्र नभई लगानीको रूपमा पनि प्रयोग गर्न सकिने विकल्पका रूपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गरेको हो।
कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो सुविधा बैंकले प्रदान गरेको हो। यस अन्तर्गत ग्राहकहरूले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन्। कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नका लागि समेत बैंकले कर्जा प्रदान गर्नेछ। यो योजना अन्तर्गत कर्जाको अधिकतम सीमा रु. ५० लाख रहनेछ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यअनुरूप हाल यो सेवा न्यूरोड–काठमाडौं, न्यूरोड–पोखरा, महाराजगञ्ज, हेटौडा र भैरहवा शाखाहरू मार्फत प्रदान गरिनेछ। यद्यपि सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालय मार्फत पेश गर्न सकिनेछ। ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रित रही विभिन्न अवसर तथा चाडपर्वहरूमा नवीनतम सेवाहरू उपलब्ध गराउँदै जाने जानकारी दिएको छ।
“सबैका लागि बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अविरल रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।




