काठमाडौँ । दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन
गर्न सयौँ कला प्रेमी, कलाकार, समीक्षक तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रदर्शनीको उद्घाटन पुस ९ गते काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा औपचारिक समारोहबीच सम्पन्न भएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नाफाका कुलपति नारदमणि हर्तमछालीले कला प्रदर्शनी सांस्कृतिक सम्बन्ध, सिर्जनशीलता तथा जनस्तरको अन्तरदेशीय सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा प्रदर्शनी संयोजक तथा प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले स्वागत मन्तव्य राख्दै कला भूगोल, विचारधारा र पहिचानको सीमाभन्दा माथि उठ्ने सार्वभौमिक भाषा भएको उल्लेख गरेका थिए । चित्रकार यादवले नेपाल, बंगलादेश, भारत, मौरिससलगायतका मुलुककाकलाकारका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शनीमा समेटिएको जानकारी दिँदै यसले सांस्कृतिक विविधता, साझा मानवीय मूल्य र कलात्मक संवाद प्रतिबिम्बित गरेको बताए । साथै उनले प्रदर्शनी आयोजक संस्था आर्ट हब, ढाका–बंगलादेश तथा सह–आयोजक मिथिला आर्ट फाउन्डेसन, काठमाडौँप्रति आभार व्यक्त गरे ।
प्रदर्शनीका क्युरेटर तथा आर्ट हब ढाकाका निर्देशक तैमुर हन्नान (बंगलादेश) ले पनि आफ्नो धारणा राख्दै सीमापार कलात्मक सहकार्यको महत्व औँल्याए । उनले नेपाल–बंगलादेशबीच अघिल्ला सांस्कृतिक आदान–प्रदानको स्मरण गर्दै यस्ता अन्तर्राष्ट्रिय कला मञ्चले सिर्जनात्मक संवाद गहिरो बनाउने र क्षेत्रीय मित्रता सुदृढ गर्ने बताए । बंगलादेशी चित्रकारहरूको तर्फबाट फाहमिदा एनाम काकलीले प्रदर्शनी सफलताको कामना गर्दै आफ्नो धारणा राखेका थिए ।
वरिष्ठ मिथिला चित्रकार विभा लालले धन्यवाद ज्ञापन गर्दै आयोजक, सहभागी चित्रकार, सहयोगी तथा दर्शकप्रति कृतज्ञता व्यक्त गरे । उद्घाटन समारोहको सञ्चालन तथा संयोजन सहभागी चित्रकार शुभाली शुभाले गरेका थिए । उद्घाटन समारोहमा कला, साहित्य र संस्कृतिक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागी हुनेहरूमध्ये वरिष्ठ साहित्यकार दम्पती धीरेन्द्र प्रेमर्षि र रूपा झा, मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरी, नाफाका सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नाफाका परिषद् सदस्यहरू दिनेश्वर महतो, अरुणा हिङमाङ, प्रदीप अधिकारी ‘सन्त’, सौरगंगा दर्शधारीका साथै वरिष्ठ चित्रकार तथा पत्रकार केशव राज खनाल उल्लेखनीय उपस्थिति थियाे ।
यस अवसरमा वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षि र नाफाका परिषद् सदस्य अरुणा हिङमाङले आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय स्तरको कलात्मक मञ्च सिर्जना गरिएकोमा आयोजकहरूको प्रशंसा गरे ।विभिन्न देशका कलाकारलाई एउटै छानामुनि ल्याउन सफल भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले सांस्कृतिक कूटनीति प्रवर्द्धन गर्नुका साथै नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए । उद्घाटन समारोहको विशेष आकर्षणका रूपमा प्रदर्शनीमा सहभागी चित्रकारहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि नारदमणि हर्तमछाली र वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षिले संयुक्त रूपमा कलाकारहरूलाई प्रमाणपत्र, क्रेस्ट तथा प्रदर्शनी क्याटलग प्रदान
गर्दै उनीहरूको सिर्जनात्मक योगदानको प्रशंसा गरे ।
कार्यक्रमको अर्को प्रमुख आकर्षण पुस १० गते सम्पन्न कला कार्यशाला थियो, जसको संयोजन प्रदर्शनी संयोजक तथा मिथिला चित्रकार रञ्जु यादवले गरेका थिए । कार्यशालामा नेपालका नौ जना र बंगलादेशका पाँच जना चित्रकारहरू सहभागी भएका थिए । कार्यशालाले सिर्जनात्मक अन्तरक्रिया, साझा सिकाइ र कलात्मक प्रयोगका लागि जीवित मञ्च प्रदान गरेको सहभागीहरूको भनाइ थियो । कलाकारहरूले विविध प्रविधि र विषयवस्तुमा काम गर्दै व्यावसायिक सम्बन्ध र सांस्कृतिक समझदारीलाई अझ सुदृढ बनाएका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी पुगेका थिए । प्रकृति, संस्कृति, पहिचान, सामाजिक चेतना, अधिकार र समसामयिक यथार्थ झल्किने कलाकृतिहरूले दर्शकको ध्यान आकर्षित गरेको थियो । कला प्रेमीहरूले प्रदर्शनीको अन्तर्राष्ट्रिय स्वरूप र दृश्य कलामार्फत सांस्कृतिक आदान–प्रदान प्रवर्द्धनमा यसको भूमिकाको प्रशंसा गरेका थिए ।



