काठमाडौं। एनआईसी एशिया बैंकको अध्यक्ष पदमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ४५औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी उक्त पदमा अग्रवाललार्इ नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर श्री प्रा. डा. विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राखेका अग्रवालले कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्ने र बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने दृढ विश्वास लिइएको छ।




