२१ जेष्ठ २०८३, बिहीबार

सुनसरीमा फागुन ९ देखि कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण

काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने जानकारी दिएको छ।  आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी आयोजकले दिएको हो । प्रतियोगितामा सात टोली सहभागि हुनेछन् । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् ।

पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएका थिए । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक (प्रतिनिधि जीवनकुमार यादव), पूर्वेली सुपर किंग्सका भरत कार्की, एभरेस्ट थन्डर्सका आकाश खड्का, बीएन कोशी अर्नाका मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सका विजय खड्का र पुजनबाबु भट्टराई रहेका छन् ।

प्रतियोगिताका लागि प्रत्येक टोलीमा कम्तीमा ११ खेलाडी अनिवार्य हुनु पर्नछ । टोली संरचनाअनुसार एक मार्की, एक आइकोनिक, राष्ट्रिय टोलीका खेलाडीमध्येबाट ड्राफ्ट गरिने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई र क्याटगोरी ‘सी’ का एक खेलाडी रहने व्यवस्था रहेकाे छ । खेलाडी अक्सनको मिति भने चाँडै सार्वजनिक गरिने आयोजकले बताएका छन् ।

केपीएलका निर्देशक अफजल हुसैनले प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट विकासमा योगदान पुर्याउने र ग्रासरुटस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यस प्रतियोगितामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नयाँ प्रतिभा उत्पादन हुने आशा पनि व्यक्त गरे ।

आयोजकले प्रतियोगितालाई सफल बनाउन प्रायोजक, संघसंस्था तथा सञ्चारमाध्यमसँग सहकार्यको अपिल गरेका छन् । सञ्चारकर्मीहरूको भूमिकालाई महत्वपूर्ण भन्दै प्रतियोगितालाई आम दर्शकमाझ पुर्याउन सहयोगको अपेक्षा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का तथा कोशी प्रदेश क्रिकेट संघप्रति सहयोग र समर्थनका लागि आयोजकले धन्यवाद व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री