ललितपुर । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको उल्लेख गरेकी छन् । त्यसैगरी प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेन–जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सरकार हाल सुशासन र निर्वाचनलाई दुई प्रमुख एजेन्डाका रुपमा अघि बढाइरहेको जानकारी गराइन् ।
स्थापना दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् । उनले महानगरपालिकाको प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको बताइन् । त्यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।
उनले थपिन् , ‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । साथै सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु ।’ निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन । शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ । आउनुहोस्, यसमा हातेमालो गरौँ ।’



