काठमाडौं । कृषि विकास बैंककाे १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्ने रणनीति ल्याएकाे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रवाह गरिने कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि कर्जामा लगानी गर्ने रणनीति लिएको वताएकाे छ। आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसायमा उत्पादन तथा व्यावसायिक कर्जा लगानीलाई प्राथमिकता दिइएको पनि बैकले वताएकाे छ ।
उत्पादनमूलक, प्राथमिकता प्राप्त क्षेत्र तथा कृषिसँग सम्बन्धित ठूला र व्यावसायिक परियोजनाहरूमा कर्जा लगानी वृद्धि, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा आकर्षित गर्न कर्जा विस्तार गरिएको बैंकले जनाएकाे छ । आर्थिक वर्षदेखि कर्जा व्यवसायमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कर्जा स्वीकृति केन्द्रीय कार्यालयबाट गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ ।
बैंकको वित्तीय स्थिति बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप रकम २०.६४ प्रतिशत वृद्धि भई २ खर्ब ९४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा तथा सापटीमा ४.५२ प्रतिशत वृद्धि भई २ अर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको लगानी रकममा ४० प्रतिशत वृद्धि भई ९७ अर्ब ८२ करोड रुपैयाँ कायम रहेको बैंकले जनाएको छ । गत वर्ष कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपातमा ३.९१ प्रतिशतमा कमी आई ३.४४ प्रतिशतमा झरेको छ ।
चालु आवको पहिलो त्रैमासमा निक्षेप संकलन १६ अर्ब २६ करोड रुपैयाँ बढेर ३ खर्ब १० अर्ब ४० करोड रुपैयाँ पुगेको बैकले जनाएकाे छ । पहिलो त्रैमासमा कर्जा लगानी ०.१७ प्रतिशत अर्थात् ३५ करोड ९८ लाख रुपैयाँ बढेर २ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरण आयकर ऐनले तोकेको समयभित्र नै कर कार्यालयमा पेश गरिने र आयकर बापत १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।
बैंकको हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ छ । साधारण सेयर पुँजीमध्ये सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ६ करोड ६१ लाख ६४ हजार रुपैयाँ ३ सय ९३ र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत अर्थात् ६ अर्ब ७८ करोड ९० लाख ५९ हजार रुपैयाँ रहेकाे छ ।
सबै नेपालीको घर-आँगनसम्म सहज बैंकिङ पहुँच’ अभियानलाई तीव्रता दिँदै बैंकले आईपीएस, कनेक्ट आईपीएस, भिजा डेबिट तथा क्रेडिट कार्ड, किसान कार्ड तथा एप, इन्टरनेट बैंकिङ, ई-कमर्स, क्यूआर पेमेन्ट, मोबाइल पीओएस, मोबाइल बैंकिङ, ई-सेवा, फोनपे, सी-आश्वा, मेरो सेयर र डिम्याट सेवा जस्ता डिजिटल माध्यम विस्तार गरेको पनि जानकारी दिएकाे छ ।




