काठमाडाै । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको वताएकाे छ। वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ईसेवा प्रयोग गरी नेपालमा रेमिट्यान्स पठाउने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत सहभागी प्रयोगकर्ताहरूले हरेक हप्ता नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
ईसेवाका अनुसार प्रत्येक हप्ता चार जना भाग्यशाली प्रयोगकर्ताले अधिकतम २६ हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्। योजनाको बम्परतर्फ एकजना विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। योजनाबारे जानकारी दिँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै प्रयोगकर्तालाई थप उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको बताए। “रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूलाई धन्यवाद र प्रोत्साहनस्वरूप आकर्षक नगद पुरस्कारको व्यवस्था गरेका छौं,” उनले भने।
यसका साथै नयाँवर्ष २०२६ को अवसरमा सम्पूर्ण प्रयोगकर्ताको सुख, शान्ति र समृद्धिको कामना समेत व्यक्त गरे । कम्पनीका अनुसार यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ई–सेवा प्रयोग गरी नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूका लागि लागू हुनेछ। योजनामा सहभागी सबै प्रयोगकर्तामध्ये विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिने ई–सेवाले जनाएको छ। डिजिटल भुक्तानी र रेमिट्यान्स सेवालाई अझ प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाले वैदेशिक रोजगारमा रहेका नेपाली र उनीहरूको परिवारलाई थप लाभ पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको जानकारी दिएकाे छ।




