समयमै चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन हुने दाबी गरेका हुन् ।

‘यो सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र निर्वाचन गर्ने हो, म्यान्डेट पनि चुनावकै पाएका छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’ गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भएको बताए । राजनीतिक दललाई पनि निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन वर्तमान सरकार सक्रिय भएको मन्त्री अर्यालको दाबी थियो ।

सुरक्षा गोष्ठीमा उद्घाटन सत्र सकिएसँगै बन्द सत्र सुरु भएको छ । दोस्रो सत्रको सुरुवातमा जिल्लागत प्रदेशगत सुरक्षा चुनौतीबारे प्रस्तुतिकरण भइरहेको छ । गृह मन्त्रालयका तर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको प्रस्तुति हुनेछ । त्यसपछि सुरक्षा निकायका प्रमुखहरू, प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिलामन्त्री सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालको मन्तव्यपछि गृहसचिव दंगालले कार्यक्रम समापन गर्ने कार्यक्रम छ ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुनेछ । गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री