ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा घाइते सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु

एजेन्सी । अमेरिकाको वाशिङ्टन डिसीको गोलीकाण्डमा घाइते भएका दुईमध्ये एक सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु भएको छ। बुधबार ह्वाइट हाउस नजिकैको मेट्रो स्टेसन तैनाथ नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट दुवै गम्भीर घाइते भएका थिए। उपचाररमध्ये २० वर्षीया सारा बेकस्ट्रमको बिहीबार निधन भएको हो। अर्का सुरक्षाकर्मी २४ वर्षीय एन्ड्र्यू वोल्फ जीवनसँग लडिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेकाे छ।

सारा २०२३ को जुनमा नेसनल गार्डमा भर्ती भएकी थिइन्। उनलाई ८६३ औं सैन्य प्रहरी कम्पनीमा खटाइएको थियो। जुन वेस्ट भर्जिनिया आर्मी नेसनल गार्ड भित्रको १११ औं इन्जिनियर ब्रिगेडको हिस्सा हो। उनको मृत्यु भएपछि उनी अध्ययन गरेको हाइ स्कुलले शोक वक्तव्य जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि साराकी परिवारसँग भर्चुअल कुराकानी गरेका छन्।

गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो। गोलीको आवाज सुनेपछि घटनास्थल पुगेका नेसनल गार्डका अरू सेनाले आक्रमणकारीमाथि गोली चलाएका थिए। उनलाई चार वटा गोली लागेको छ। वाशिङ्टन डिसी प्रहरीका कार्यकारी सहायक प्रमुख जेफ्री क्यारोलले आक्रमण गर्ने व्यक्ति रहमानउल्लाह लाकनवाल छन्। उनी अफगानी नागरिक हुन् ।

२९ वर्षीय लाकानवाललाई घटनास्थलमै रहेका अन्य सैनिकहरूले नियन्त्रणमा लिएका थिए। जबाफी कारबाहीका क्रममा उनी पनि गोली लागेर घाइते भएका छन् । स्रोतका अनुसार उनी सन् २०२१ मा राष्ट्रपति जो बाइडेन प्रशासनको ‍‘अपररेशन अलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए। सो कार्यक्रमअन्तर्गत अमेरिका अफगानिस्तानबाट फिर्ता हुँदा करिब ७६ हजार अफगान नागरिकलाई सुरक्षित रूपमा अमेरिका पुनःस्थापना गरिएको थियो।

तीमध्ये धेरैले यसअघि अमेरिकी सेना तथा कूटनीतिज्ञसँग दोभाषे वा अनुवादकका रूपमा काम गरेका थिए। एपीका अनुसार लाकानवाल वासिङ्टन राज्यमा बस्दै आएका थिए। उनी विवाहित र पाँच छोराका बाबु हुन्। लाकानवालले सेप्टेम्बर २०२१ मा अमेरिका आउनुअघि अफगान सेनामा करिब १० वर्ष सेवा गरेका थिए। त्यस अवधिमा केही समय कन्धारस्थित सैन्य अड्डामा तैनाथ पनि थिए।

अफगानिस्तानमा अमेरिकी विशेष फौजसँग सहकार्य गरेको पनि बताइएको छ। घटनापछि ट्रम्पले अफगानिस्तानमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यही घटनापछि ट्रम्पले सुरक्षाका दृष्टिले संवेदनशील मानिएका १९ देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पनि पुन कडाइका साथ जाँच गर्न निर्देशन दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूले पाएका ग्रीन कार्ड पुन जाँच हुने वताइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री