१ सय नवप्रवर्तनलाई महिला चेम्बरको स्टार्टअप कर्जा अभिमुखीकरण

  • नेपाल महिला चेम्बरले स्टार्टअप, उद्यमशीलता तथा उद्यम प्रवर्द्धन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाडौं । उद्यमशीलता विकास र नवप्रवर्तन (स्टार्टअप) का लागि सरकारले ल्याएको कर्जा सुविधा तथा नीतिगत अवसरबारे जानकारी गराउने उद्देश्यले राजधानीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले बुधबार जमलस्थित चेम्बर भवनमा “स्टार्टअप, उद्यमशीलता तथा उद्यम सम्बर्द्धन केन्द्र” विषयक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सरोकारवालाहरूले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र युवा पलायन रोक्न स्टार्टअप तथा उद्यमशीलताको विकास अपरिहार्य रहेको औँल्याए ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्ताले स्टार्टअप कर्जा प्राप्त गर्नका लागि १५ करोड रुपैयाँभन्दा कम कारोबार भएको हुनुपर्ने बताए । उनले विगत १० वर्षभित्र १५ करोडभन्दा बढी कारोबार नभएको, विधिवत दर्ता भएको र नवीन तथा सिर्जनशील सोचलाई उद्यममा रूपान्तरण गरेको व्यवसायले मात्र आवेदन दिन पाउने प्रस्ट पारे ।

तीव्र वृद्धिको सम्भावना बोकेका उद्यमलाई प्राथमिकता दिइने बताउँदै गुप्ताले तथ्यांक पनि प्रस्तुत गरे । ‘गत वर्ष ५ हजार १ सय आवेदकमध्ये १ हजार ३ सय १४ जना सर्टलिस्टमा परेका थिए । तीमध्ये १ हजार ७३ जनाको व्यावसायिक प्रस्ताव मूल्याङ्कन गरी ६ सय ६१ जनालाई कर्जा प्रवाह गरिएको थियो,’ उनले भने । सुरुमा २५ करोड विनियोजन गरिएको यस कार्यक्रमका लागि पछिल्लो वर्ष १ अर्ब रुपैयाँ छुट्याइएको जानकारी उनले दिए । कार्यक्रममा सहभागीहरूले राखेको जिज्ञासामा गुप्ताले कार्यविधि र प्रावधानबारे स्पष्ट पारेका थिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बेरोजगारी र अवसरको अभावका कारण युवाशक्ति विदेशिन बाध्य हुनु मुलुकका लागि प्रमुख चुनौती रहेको बताए । कृषि, जलविद्युत, खानी–खनिज, पर्यटन तथा सूचना–प्रविधि क्षेत्रमा विशाल सम्भावना हुँदाहुँदै पनि दैनिक २५० भन्दा बढी युवा विदेशिनु दुःखद भएको उनको भनाइ थियो ।

‘स्टार्टअप र उद्यमशीलता विकासले मात्रै रोजगारी सिर्जना गर्न सक्छ । यदि यसो गर्न सकिएन भने आगामी दिनमा ‘जेन्जी’ आन्दोलनजस्तै अन्य आन्दोलनहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,’ अध्यक्ष अग्रवालले भने । चेम्बरले प्रतिष्ठानसँग सहकार्य गर्दै उत्कृष्ट स्टार्टअपलाई सम्मान र प्रवर्द्धन गर्ने योजना रहेको पनि उनले सुनाए ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलालाई मात्र नभई युवा तथा पुरुष उद्यमीहरूलाई समेत उद्यमशीलतामा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । व्यवसाय प्रवर्द्धनका लागि समयमै सूचना र जानकारी आवश्यक पर्ने भन्दै उनले यस्ता कार्यक्रमले उद्यम विकासमा सहजीकरण गर्ने विश्वास व्यक्त गरिन् । ‘महिला र पुरुष दुवैको समान सहभागिताले मात्र देशको समग्र आर्थिक विकास सम्भव छ,’ उनले भनिन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले आफूले पनि गत वर्ष स्टार्टअप कर्जा प्राप्त गरी व्यवसाय सञ्चालन गरिरहेको अनुभव सुनाइन् । सचिव इरा प्रसाईले सहजीकरण गरेको उक्त कार्यक्रममा महिला उद्यमी, युवा व्यवसायी तथा चेम्बरका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री