काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र मौलाएको अस्वस्थ नेतृत्व होडबाजी र किचलोले पार्टीलाई दुर्घटनातर्फ धकेलिरहेको चेतावनी दिएका छन् । बझाङ र बाजुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सभापति शेरबहादुर देउवालाई किनारा लगाएर नेतृत्व हत्याउने महत्त्वाकांक्षा नराख्न असन्तुष्ट पक्षलाई सुझाव दिएका हुन् ।
उनले सभापति देउवालाई ‘निचोरेर’ वा बाहिर राखेर नेतृत्व लिन्छु भन्ने सोच्नु केवल भ्रम मात्र हुने बताए । ‘नेतृत्व कसले र कसरी लिने भन्ने विषयमा अनावश्यक होडबाजी नगरौँ, हामी अहिले गलत बाटोमा हिँडिरहेका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘विचार र स्पष्ट दृष्टिकोणका लागि महासमिति बैठक अपरिहार्य छ, तर नेतृत्वलाई बाइपास गरेर अघि बढ्न सकिँदैन ।’
उनले पार्टीभित्रको वैचारिक तथा सैद्धान्तिक बहसलाई संस्थागत गर्न महासमिति बैठक नै सर्वोत्तम माध्यम भएको जिकिर गरे । सभापति देउवामाथि भएको साङ्घातिक आक्रमणपछि पार्टी एकढिक्का हुनुपर्नेमा उल्टै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाउनु विभाजनकारी कदम भएको उनको आरोप थियो । पूर्वसभापति सुशील कोइरालाको कार्यकालमा पनि आवश्यकताअनुसार विधान संशोधन गरेर कार्यकाल थपिएको दृष्टान्त दिँदै उनले अहिलेको हतारोलाई ‘गलत बाटो’ को सङ्ज्ञा दिए ।
‘उपभोक्ता समितिबाट हुने काम रोक्नुपर्छ’
राजनीतिक विषयसँगै मुख्यमन्त्री शाहले विकास निर्माणमा हुने बेथितिविरुद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । उनले उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरू भ्रष्टाचारको अखडा बनेको टिप्पणी गरे ।
शुक्रबार बाजुराका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘स्थानीय तहमा योजना किनबेचका गुनासा व्यापक आएका छन् । उपभोक्ता समितिमार्फत हुने काम नरोकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव छैन ।’ उनले यस्तो प्रवृत्तिलाई तत्काल निरुत्साहित गर्न सरोकारवालाहरूलाई निर्देशनसमेत दिए ।
शुक्रबार नै मुख्यमन्त्री शाहले बाजुराको शान्ति–सुरक्षाको अवस्थाबारे निमित्त प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।




