काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु जितका लागि १ सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कर्णालीको यस विशाल योगफलमा ओपनर प्रियांक पन्चलको विष्फोटक ब्याटिङ मुख्य आकर्षण रह्यो।
टस जितेर फिल्डिङ रोजेको चितवन राइनोजको निर्णयलाई गलत साबित गर्दै कर्णालीका ब्याट्सम्यानहरूले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रनको बलियो योगफल खडा गरे।
कर्णालीका लागि नायक बनेका ओपनर प्रियांक पन्चलले मात्र ४८ बलमा ७ चौका र ६ गगनभेदी छक्काको मद्दतले शानदार ९० रन बनाए। उनी रवि बोपाराको बलमा देव खनालद्वारा क्याच आउट भए पनि त्यसअघि नै टोलीलाई बलियो जग बसाइसकेका थिए।
अर्का ओपनर म्याक्स ओ’डाउड भने ६ बलमा २ रन बनाएर सैफ जैबको बलमा बोल्ड आउट हुन पुगे। मार्क वाटले २१ बलमा १ चौकासहित १६ रनको योगदान दिए। उनी सोहेल तनवीरको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए।
मध्यक्रममा पवन सर्राफ र नजिबुल्लाह जड्रानले अविजित रहँदै इनिङ्सलाई बलियो अन्त्य दिए। पवन सर्राफले १६ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै आक्रामक २७ रन बनाए भने नजिबुल्लाह जड्रान ४ रनमा अविजित रहे।
चितवन राइनोजका लागि सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक-एक विकेट लिए। अब केहीबेरमा चितवनले जवाफी ब्याटिङ सुरु गर्नेछ, जसका लागि १६७ रनको लक्ष्य चुनौतीपूर्ण रहने देखिन्छ।




