काठमाडौँ । गत वर्ष चैत १५ गतेको आन्दोलनका क्रममा दुखद निधन भएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न सरकारले पहल गर्ने भएको छ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार स्वर्गीय पत्रकार रजककी श्रीमती सूजन मगियालाई सरकारी रोजगारी प्रदान गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले पत्रकार रजकलाई “पत्रकार शहीद” को रूपमा घोषणा गरिनुपर्ने आफ्नो दृढ माग रहेको र यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। “सुरेशलाई पत्रकार शहीदको रूपमा घोषणा गरिनुपर्छ। सरकारको मन्त्रीको हिसाबले यो प्रक्रिया बढाउन म प्रतिबद्ध छु,” उनले भने।
सरकारले स्वर्गीय रजककी श्रीमती सूजनलाई सञ्चार मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरेको छ। यो नियुक्ति कानुनसम्मत ढंगले गरिएको मन्त्री खरेलले स्पष्ट पारे। उनले यसबाट सूजनलाई केही हदसम्म राहत मिल्ने र उनको जागिरको सुरुवात हुने विश्वास व्यक्त गरे।
यतिमात्र नभई, मन्त्री खरेलले सूजनको शैक्षिक उन्नयनका लागि पनि सरकार र व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। “यदि सूजन बहिनीले पढ्न चाहनुभयो भने, कुनैपनि विषयमा अध्ययन गर्ने चाहना छ भने सम्बन्धित कलेजमा पढाइदिन छात्रवृत्ति, छुट र सजिलोसँग पढ्ने वातावरण मिलाउने मेरो चाहना छ। तपाईँले कुनै कलेजमा अध्ययन गर्ने चाहना छ भने म मेरो व्यक्तिगत र सरकारको तर्फबाट पनि बहिनीलाई सहयोग गर्नेछु,” उनले भने।
पत्रकार रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा भिडियो कैद गरिरहँदा ज्यान गएको थियो। उनको निधनले नेपाली पत्रकारिता जगतलाई स्तब्ध तुल्याएको थियो।
मन्त्री खरेलले स्वर्गीय पत्रकार रजकको शालिक निर्माण गर्ने प्रक्रियाका बारेमा पनि सरकारले अध्ययन गरिरहेको र यसबारेमा उपयुक्त निर्णय गरिने जानकारी दिए। उनले रजकको घटनाको मात्रै नभई, सो आन्दोलनका क्रममा भएका अन्य सबै घटनाहरूको बारेमा पनि विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिए।



