एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, निर्वाचन प्रयोजनार्थ सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र

काठमाडौं । आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ लाई स्वीकृत गरेको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा बसेको समितिको बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएअनुसार, बैठकले निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ। यो निर्णयले निर्वाचन सुरक्षामा थप बल पुग्ने अपेक्षा गरिएको छ।

गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमाथि व्यापक छलफल गरी एकीकृत सुरक्षा योजनालाई अन्तिम रूप दिइएको प्रवक्ता काफ्लेले बताए।

प्रवक्ता काफ्लेका अनुसार, स्वीकृत योजनामा सुरक्षा निकायहरू कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरूको वर्गीकरण र सोहीअनुरूप मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरूको तैनाथीका विषयहरू समेटिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनलाई तीन तहमा विभाजन गरिएको छ: निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात गरिने सुरक्षा रणनीतिहरू।

योजनामा राजनीतिक अभियानहरू, सीमानाकामा हुन सक्ने आपराधिक गतिविधिहरू र समग्र निर्वाचन प्रक्रियालाई सुरक्षित राख्नका लागि आवश्यक सबै सुरक्षा प्रबन्धहरू समावेश गरिएको छ। “यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत भएको छ,” काफ्लेले भने।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका रथीको सहभागिता रहेको थियो। यस निर्णयसँगै आसन्न निर्वाचनको सुरक्षा तयारीले पूर्णता पाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री