धनगढीमा ९५ लाखको मोबाइल पार्ट्ससहित दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट कार्तिक २५ गते करिब ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-१९ खेदाका ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आशुतोष कुमार गुप्ता छन् ।

सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले चौधरीलाई सुदूरपश्चिम प्रदेश ०१-००८ प ५१३२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोबाइलका पार्टससहित नियन्त्रणमा लिएको हो ।

चौधरीले भारतबाट अवैध रूपमा ल्याएको मोबाइलका पार्टस सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बयान दिएका थिए । त्यसपछि प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्टससहित सप्लायर्सका सञ्चालक आशुतोष कुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री