सम्पादकहरूसँग प्रधानमन्त्रीले भनिन्- म असहज अवस्थामा आएँ, तर डराउदिनँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको कामकारबाहीलगायतका विषयमा छलफल गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारका तर्फबाट अधिकतम प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको जानकारी दिइन् । यसबीचमा युवा पुस्ता (जेनजी) र राजनीतिक दलहरूबीच छलफल भएको समेत उनले उल्लेख गरिन् ।

सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर बिदा हुने मनसायमा आफू रहेको प्रधानमन्त्री कार्कीले बताएकी छिन् । सुशासन कायम गर्ने र निर्वाचन गराउने सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर फागुन २१ को निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने बताइन् । उनले आफूले असहज अवस्थामा सरकारको नेतृत्व लिएको स्पष्ट पार्दै आलोचनाबाट नडराउने समेत बताइन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री ओमप्रकाश अर्याल, गृहमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री