चक्रवात ‘मोचा’ को प्रभाव: नेपालभर भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘मोचा’ नेपालतर्फ अघि बढेसँगै देशका पूर्वी र मध्य क्षेत्रमा आगामी तीन दिनसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष सूचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आह्वान गरेको छ ।

विभागका अनुसार, ‘मोचा’ चक्रवात आज राति भारतको उत्तर–उत्तरपश्चिम हुँदै नेपालको पूर्व–मध्य भागमा प्रवेश गर्नेछ । यसको प्रत्यक्ष प्रभाव मंगलबार रातिदेखि बिहीबारसम्म देशभर पर्नेछ ।

कहाँ कस्तो प्रभाव ?

  • भारी वर्षा: विशेषगरी मधेश, कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

  • मध्यम वर्षा: गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

  • हिमपात: उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्नेछ ।

  • बाढीको जोखिम: बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका नदी–खोला आसपासका बस्तीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको विभागले चेतावनी दिएको छ । बागमती, कन्काई, कमला, तामोर, अरुण, बुढीगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी र राप्ती लगायतका प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य रूपमा बढ्ने अनुमान छ ।

अति जोखिममा रहेका जिल्लाहरू:
इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, नुवाकोट, चितवन, लमजुङ, तनहुँ, गोरखा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङजा, रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कालीकोट ।

जनजीवनमा पर्न सक्ने असर:
यस मौसमी प्रणालीले जनजीवन, यातायात, कृषि र पर्यटन क्षेत्रमा गम्भीर असर पार्न सक्ने भएकाले विभागले सबैलाई सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।

विभागले अद्यावधिक जानकारीका लागि आफ्नो वेबसाइट, सामाजिक सञ्जाल पेज र टोल–फ्रि नम्बर (११४९) मार्फत सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री