काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निर्वाचन आयोगले आवेदनका लागि आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै आवश्यक कागजातसहित १५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो।
कसरी र कहाँ दिने आवेदन?
-
काठमाडौं उपत्यका: निर्वाचन आयोगको केन्द्रीय कार्यालय।
-
अन्य जिल्ला: सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय।
निवेदनसँगै पेस गर्नुपर्ने कागजातहरू:
- संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि।
- संस्थाको विधानको प्रतिलिपि।
- संस्था नवीकरण भएको प्रमाण।
- संस्थाको कार्यसमितिका पदाधिकारीहरूको नामावली।
- राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण।
- पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेका ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य प्रकाशनहरू (यदि भए)।
- यसअघि निर्वाचन पर्यवेक्षण गरेको भए आयोगमा प्रतिवेदन बुझाएको प्रमाण।
अनुमति नपाउने अवस्थाहरू:
-
निर्वाचन कसूर वा आचारसंहिता उल्लंघन गरी सजाय पाएका संस्थाहरू।
-
यसअघि अनुमति पाई पर्यवेक्षण प्रतिवेदन नबुझाएका संस्थाहरू।
-
पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम भएको क्षेत्रमा पर्यवेक्षण गर्न पाउने छैनन्।
आयोगले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पर्यवेक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै योग्य संस्थाहरूलाई समयमै आवेदन दिन अनुरोध गरेको छ।




