काठमाडौँ । छठ पर्वको पवित्र अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज गुह्येश्वरीस्थित छठी घाटमा पुगेर सूर्यदेवसहित छठी माताको विशेष पूजा आराधना एवं अघ्र्यदान गरेका छन् । आस्था र विश्वासको महापर्व छठलाई भव्यताका साथ मनाइरहँदा राष्ट्रपति पौडेलले यस परम्परालाई निरन्तरता दिए ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ । परम्परागत रूपमा राष्ट्रपतिले गुह्येश्वरी र कमलपोखरी दुवै स्थानमा पूजा आराधना गर्ने गरिए पनि यस वर्ष भने उनले गुह्येश्वरीमा मात्र सहभागी भएको राष्ट्रपतिको सचिवालयले जनायो ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारलगायतका स्थानमा छठ घाटहरूलाई बेहुलीझैँ सिँगारिएको थियो । यी घाटहरूमा छठी माताको माटाको आकर्षक मूर्तिहरू पनि स्थापना गरी पूजा गरिएको थियो । छठ घाटमा पुगेका हजारौँ भक्तजन तथा सर्वसाधारणको उल्लेख्य भीडले पर्वको धार्मिक महत्व र सामाजिक सद्भावलाई झल्काएको थियो ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिने छठ पर्वको विधिवत् समापन हुनेछ । छठको व्रत बसेमा मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति हुने र रोगब्याधिबाट मुक्ति मिल्ने जनविश्वास छ ।




