निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन तोकिएको समयमा नै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई कडाइका साथ निर्देशन दिएका छन्। शनिबार निर्माणस्थलको प्रत्यक्ष अवलोकनपछि उनले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन आदेश दिएका हुन्।

मन्त्री घिसिङले भने, “पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारले आगामी पुस १६ गतेभित्र भवन निर्माण पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। अब कुनै बहानाबिना तोकिएको समयमै काम सम्पन्न गर्नुपर्छ।”

उनका अनुसार जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आगजनी र क्षति भएको हुँदा राष्ट्रियसभा बैठक सञ्चालनमा समस्या भइरहेको छ। “क्षतिग्रस्त पुरानो भवन तत्काल प्रयोगयोग्य छैन, त्यसैले नयाँ संसद् भवन छिटो सम्पन्न गर्न अत्यावश्यक छ,” मन्त्री घिसिङले भने।

ठेकेदार कम्पनीका प्रतिनिधिहरूले हालसम्म करिब ८७ प्रतिशत काम सम्पन्न भइसकेको र भवनभित्र “फिनिसिङ” कार्य जारी रहेको जानकारी दिए। विदेशी सामग्री आयातमा केही ढिलाइ भए पनि तोकिएको म्यादभित्र निर्माण पूरा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

१ सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त नयाँ संघीय संसद् भवन सिंहदरबार परिसरभित्र निर्माणाधीन छ। भवन तयार भएपछि आगामी निर्वाचनपश्चात् प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक त्यहीँबाट सञ्चालन हुने योजना सरकारको रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप