संवादहीनताको अन्त्य : बालुवाटार बैठकले निर्वाचनको बाटो खोल्यो

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँगको संवादलाई तीव्रता दिएको छ । फागुन २१ मा घोषित निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न तथा मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्ने उद्देश्यका साथ प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सर्वदलीय बैठक आह्वान गर्नुभयो । जेनजी आन्दोलनको जगमा स्थापित यस वर्तमान सरकारको यो कदमले राजनीतिक वृत्तमा सकारात्मक तरङ्ग पैदा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको यस महत्वपूर्ण बैठकमा निर्वाचनको वातावरण निर्माण, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा सघन छलफल भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दलहरूबीचको संवादले निर्वाचनको माहोल बनेको र सरकार उत्साहित भएको बताए । उनका अनुसार, निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, जेनजी आन्दोलनका अगुवा र अन्य सरोकारवाला पक्षहरू जिम्मेवार भई प्रस्तुत भएका छन् ।

बैठकमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित चुनाव गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गराइन् । उनको सचिवालयका अनुसार, यसका लागि मन्त्रीहरू र सुरक्षा निकायसहित सम्पूर्ण सरकारी संयन्त्र अहोरात्र खटिरहेको छ । सञ्चारमन्त्री खरेलले निर्वाचनको सन्दर्भमा गम्भीर छलफल भएको र सुरक्षाको वातावरण बनाउनुपर्ने दलहरूको चासोप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरूसँगको वार्ताबाट सरकार निकै उत्साहित भएको र दलहरूबाट अत्यन्तै सकारात्मक जवाफ आएको बताए ।

मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारले दलहरूलाई विश्वासमा लिएर सबैखालका पहलकदमी लिइरहेको उल्लेख गरे । जनताले समेत सरकार र राजनीतिक दलहरूबीच सिधा संवाद चाहेकोमा प्रधानमन्त्री कार्कीको आह्वानमा भएको यो बैठकले संवादहीनताको अन्त्य गरेको उनको भनाइ थियो । छलफलमा सहभागी सबै राजनीतिक दलका नेताहरूले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएको खरेलले उल्लेख गरे । दलहरूको प्रमुख चासो निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउनु रहेको उनले उल्लेख गरे ।

सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका साथै जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको यस सरकारलाई जनता, राजनीतिक दल तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको बताए । उनले सरकार निर्वाचनको वातावरण बनाउन, राजनीतिक दलहरूले मत माग्न र जनताले मतदान गर्ने वातावरण निर्माण गर्न लागिपरेको बताए ।

पछिल्लो १० दिनदेखि राजनीतिक दलहरूसँग निरन्तर वार्ता र संवाद भइरहेको र आजको छलफलले त्यसलाई थप मजबुत बनाएको मन्त्री खरेलको भनाइ थियो । उनले सम्भवतः तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी पनि दिए ।

यस महत्वपूर्ण बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुहुन्थ्यो ।

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा एमालेका शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो । यो बैठकले आसन्न निर्वाचनका लागि राजनीतिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप