काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको तथ्याङ्क सार्वजनिक गरेको छ । सेनाका अनुसार, उक्त आन्दोलनमा मृत्यु भएका कूल ७६ जनामध्ये २२ जना मात्र प्रदर्शनकारी थिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले दिएको जानकारीअनुसार, आन्दोलनको क्रममा तीन प्रहरी, १० कैदी र अन्य ४१ जनाको पनि ज्यान गएको थियो ।
जेन–जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा १९ जना र सुनसरीको इटहरीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
यस घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो चासो र बहस सिर्जना गरेको छ । सेनाले सार्वजनिक गरेको यो तथ्याङ्कले आन्दोलनको समग्र प्रभाव र मानवीय क्षतिबारे थप प्रकाश पारेको छ ।





