नेपालको टी–२० विश्वकप यात्रा: आज ओमानसँगको भिडन्तले निर्धारण गर्नेछ भाग्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले तालिकाको शीर्षक स्थानको ओमानको सामना गर्दैछ । यो खेल नेपालको २०२६ को टी-२० विश्वकप यात्राका लागि निर्णायक मोड बन्नेछ ।

यसअघि सुपर सिक्समा युएईलाई १ रन र कतारलाई ५ रनको रोमाञ्चक अन्तरले पराजित गर्दै नेपालले आफ्नो बलियो उपस्थिति दर्ता गराइसकेको छ । आज राति ८:४५ बजे सुरु हुने ओमानविरुद्धको खेलमा विजयी भएमा नेपाल सीधै टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

सुपर सिक्सको अंकतालिकामा ओमान र नेपाल दुवैले समान ६-६ अंक बटुलेका छन् । यद्यपि, रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा अटाएको छ । दुई अंकसहित युएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामोआ अंकविहीन छन् ।

सुपर सिक्समा सहभागी ६ टोली (नेपाल, युएई, ओमान, जापान, कतार र सामोआ) मध्ये शीर्ष तीनमा रहने टोलीले भारत र श्रीलंकामा आयोजना हुने २०२६ को टी-२० विश्वकपमा स्थान बनाउनेछन् । नेपालले ओमानलाई पराजित गरेमा मात्र होइन, शुक्रबार सामोआसँगको अन्तिम खेल अघि नै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने अवसर पाउनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री