प्रधानमन्त्री कार्कीको नाम दुरुपयोग गर्दै चन्दा उठाइएपछि…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको नाम दुरुपयोग गरी चन्दा सङ्कलन गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले यस्ता गैरकानूनी गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिव एवं प्रवक्ता रविलाल शर्माले आज एक विज्ञप्ति जारी गर्दै केही व्यक्ति वा समूहले प्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि चन्दा, सहयोग रकम वा आर्थिक दान माग गरिरहेको जानकारी प्राप्त भएको बताए । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न अनुरोध छ ।’

कार्यालयले प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तत्काल नजिकको स्थानीय प्रशासन/प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ । साथै, नेपालबाहिर बसी कसैले यस्तो अनधिकृत गतिविधि गरिरहेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिनु हुन समेत अनुरोध गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री