काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको नाटकीय जित निकालेको छ । यो जितसँगै अपराजित नेपालले ६ अंक जोडेको छ। कतारविरुद्धको यो खेल सन्दीप लामिछानेको तारिफयोग्य बलिङ र अन्तिम ओभरको अपत्यारिलो प्रदर्शनका कारण सधैं सम्झनायोग्य रहनेछ ।
१४८ रनको लक्ष्य पछ्याएको कतारलाई जितका लागि २० औं ओभरमा १० रनको आवश्यकता थियो । तर, बलिङमा आएका सन्दीपले खेलको पासा पल्टाइदिए । पहिलो दुई बल डट फालेर दबाब सिर्जना गरेपछि तेस्रो बलमा आमिर फारूकलाई आउट गर्दै उनले नेपाली दर्शकमा उत्साह छरे । बाँकी ३ बलमा १० रन आवश्यक रहेको अवस्थामा कतारले १ रन र २ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा ६ रन चाहिएको बेला वाइड बलमा मुजिब स्टम्पिङ आउट भएपछि नेपालले ५ रनको अविश्वसनीय जित दर्ता गर्यो ।
सन्दीपले आफ्नो स्पेलमा ३.५ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ५ विकेट लिए, जुन उनको टि-२० करियरकै उत्कृष्ट प्रदर्शनमध्ये एक हो । यससँगै उनले टि-२० र ओडिआई अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेटको महत्वपूर्ण कोसेढुंगा समेत पार गरे । नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
कतारले सानदार सुरुवात गर्दै ओपनर इमाल लियानागे र जुबेर अलिले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे । इमालले ३१ बलमा अर्धशतक पूरा गर्दै ५६ रन बनाए । तर, १० औं ओभरमा सन्दीपले इमाललाई आउट गर्दै यो खतरनाक साझेदारी तोडे। त्यसपछि मुहम्मद असिमलाई १० रनमा पेभेलियन फर्काएपछि नेपालले खेलमा फर्किने मौका पायो । रनआउटको सिकार बनेका मिर्जा मोहम्मद र मोहम्मद तनबीरले कतारलाई थप संकटमा धकेले ।
यद्यपि, जुबेर अलिले एक छेउ सम्हाल्दै अर्धशतक पूरा गरेर कतारलाई जित नजिक पुर्याएका थिए । तर, १९ औं ओभरको पहिलो बलमा नन्दन यादवले ५२ रनमा खेलिरहेका जुबेरलाई गुलशन झाद्वारा क्याचआउट गराउँदै खेललाई पूरै नेपालको पक्षमा ल्याए । यसपछि सन्दीपले अन्तिम ओभरमा आफ्नो जादु देखाए ।
अल अमेरत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालको सुरुवात राम्रो हुन सकेन । कुशल भुर्तेल (६), आसिफ शेख (११) र कुशल मल्ल (८) ले छिट्टै विकेट गुमाएपछि नेपालले ४८ रनमा ३ विकेट गुमाइसकेको थियो ।
तर, त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली इनिङ्सलाई सम्हाले। रोहितले ३५ बलमा ६ छक्का र १ चौकासहित आफ्नो टि-२० अन्तर्राष्ट्रिय करियरको आठौं अर्धशतक पूरा गरे । रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई मध्यम योगफलतर्फ डोर्याए । दीपेन्द्रले २२ बलमा २५ रन बनाएर आउट भए ।
नेपालले पछिल्ला ओभरमा छिट्टै विकेट गुमाउन पुगेको थियो । दीपेन्द्र आउट भएपछि आदिल आलम (२), रोहित पौडेल (५८), सन्दीप जोरा (१) र गुलशन झा (१६) लगातार आउट भए । सोमपाल कामीले ९ बलमा १४ रन जोडेका थिए ।
कतारका कप्तान मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चरले समान ३/३ विकेट लिँदै किफायती बलिङ गरे । आर्चरले ३ ओभरमा २२ रन खर्चे भने बेगले ४ ओभरमा २९ रन दिए ।
यो जितसँगै नेपालले सुपर सिक्समा ६ अंक जोडेको छ भने कतारको भने लगातार तेस्रो हार हो र उसले अंकको खाता खोल्न सकेको छैन । अब नेपालले ओमानसँग खेल्नेछ ।




