काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई सार्वजनिक रूपमा ‘आँखामा आँखा जुधाएर हेर्न’ चुनौती दिएका छन् । गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का विषयमा लेखकले आफूप्रति पूर्वाग्रह नराख्न र प्रतिशोध नसाँध्न गरेको आग्रहको प्रत्युत्तरमा मिश्रले आफ्नो पुरानो पीडा पोखेका हुन् ।
सामाजिक सञ्जालमार्फत मिश्रले लेखकको भनाइलाई ‘एकदम राम्रो’ भन्दै स्वागत गरे पनि, आफ्नो मनमा कुनै प्रतिशोधको भाव नरहेको स्पष्ट पारे । तर, उनले ‘कुनै सार्वजनिक कार्यक्रममा भेट्दा रमेशजी, एकपटक मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त भन्ने उत्कट इच्छाचाहिँ छ’ भन्दै गम्भीर प्रश्न उठाएका छन् ।
मिश्रले चैत १५ गतेको घटना स्मरण गर्दै लेखकमाथि ‘कुनै कसुरबिना ५० दिन थुनेको’ र ‘सकेदेखि बाँकी जीवन पूरै जेल हाल्ने र भएको सम्पत्ति सबै जफत गर्ने मागसहित चारवटा गम्भीर मुद्दा लगाएको’ आरोप लगाएका छन् । उनले ‘अरू धेरैलाई त्यसै गरेको’ र ‘कर्तव्य निर्वाह गर्दा विवेक गुमाएको’ भन्दै दुःख व्यक्त गरेका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बन्दा मिश्र पनि पक्राउ परेका थिए । सोही घटनालाई लिएर आफूमाथि अन्याय भएको मिश्रको भनाइ छ ।




