काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका निकायहरूलाई शिक्षा क्षेत्रको प्रभावकारिता बढाउन महत्त्वपूर्ण पाँच बुँदे निर्देशन दिएका छन् । मन्त्री पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् ।
आणविक अनुसन्धान केन्द्रको स्थापना: मन्त्री पुनले नेपालमा क्यान्सरका बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन देशमै गर्नका लागि तत्काल आणविक अनुसन्धान केन्द्र खोल्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । यसले क्यान्सर उपचारमा आत्मनिर्भरता बढाउनुका साथै स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्ने विश्वास गरिएको छ ।
सीटीइभीटीको पुनर्संरचना: प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधार ल्याउन मन्त्री पुनले सीटीइभीटी (CTEVT) को पुनर्संरचना गर्न कार्यदल गठन गर्न निर्देशन दिएका छन्। यसको मुख्य उद्देश्य सक्षम र बजारमुखी जनशक्ति उत्पादन गर्नु रहेको छ । यसबाट देशको प्राविधिक शिक्षाको गुणस्तरमा वृद्धि भई रोजगारी सिर्जनामा टेवा पुग्नेछ।
नास्टमा वैज्ञानिक अनुसन्धानको सुदृढीकरण: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपाली वैज्ञानिकहरूलाई आकर्षित गर्न र संस्थालाई थप प्रभावकारी बनाउन आवश्यक सुधार तथा पुनर्संरचनाका लागि कार्यदल बनाउने निर्णय पनि मन्त्री पुनले गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जग्गा प्रतिवेदन सार्वजनिक: मन्त्री पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् । यसले विश्वविद्यालयको सम्पत्ति व्यवस्थापनमा पारदर्शिता कायम गर्न मद्दत पुग्नेछ ।
संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति: नेपाल संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगका पदाधिकारीहरूको रिक्त स्थानमा नियमानुसार तत्काल नियुक्ति गर्न पनि मन्त्री पुनले निर्देशन दिएका छन् ।
यसअघि बुधबार पनि मन्त्री पुनले पाठ्यक्रमको समसामयिक परिमार्जन र अध्यावधिक गर्न निर्देशन दिएका छन् । पाठ्यक्रम विकास केन्द्रको अवलोकन तथा पदाधिकारीहरूसँगको छलफलपछि उनले मातृभाषाका पाठ्यपुस्तकहरूको विकास, नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका थिए ।




