काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनले ‘द माइटी एग: प्याक्ड विथ नेचुरल न्युट्रिसन’ (The Mighty Egg: Packed with Natural Nutrition) नाराका साथ विश्व अण्डा दिवस २०८२ (अक्टोबर १०, २०२५) मनाउनका लागि एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। यस कार्यक्रमले अण्डाको पौष्टिक महत्वबारे जनचेतना फैलाउने र यस क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ।
आगामी २०८२ साल असोज २४ गते (अक्टोबर १०, २०२५) चितवनमा आयोजना हुने यस कार्यक्रममा भेटेरिनरी चिकित्सकहरू, किसानहरू, पोल्ट्री व्यवसायीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू लगायत अन्य सरोकारवालाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा अण्डाको महत्व, यसका फाइदाहरू र पोल्ट्री उद्योगका चुनौती तथा सम्भावनाबारे गहन छलफल गरिनेछ। यसका लागि अन्तरक्रियात्मक सत्रहरू, प्रस्तुतीकरणहरू र प्यानल छलफलहरू समावेश गरिएका छन्। यसका साथै, लक्षित समुदायका लागि विशेष अण्डा वितरण कार्यक्रम पनि राखिएको छ, जसले अण्डाको पौष्टिक पहुँच बढाउन मद्दत गर्नेछ।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले अण्डालाई ‘शक्तिशाली’ भोजनका रूपमा चित्रण गर्दै यसको प्राकृतिक पोषणको महत्वमा जोड दिए। उनले अण्डा सस्तो, सुलभ र उच्च गुणस्तरको प्रोटिनको स्रोत भएको उल्लेख गर्दै बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि आवश्यक पोषण प्रदान गर्ने बताए। डा. न्यौपानेले देशभर विश्व अण्डा दिवस २०८२ लाई भव्य रूपमा सफल पार्नका लागि सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आह्वान पनि गरे।
यस कार्यक्रमले नेपालको पोल्ट्री उद्योगको विकास, अण्डा उत्पादनमा आत्मनिर्भरता र पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका छन्, जसले यस दिवसको महत्वलाई थप बढाएको छ।



