काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार कहाँ छन् भन्ने कुरा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई थाह भएको दाबी गरेका छन् । बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकी लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियारसमेत भएको आरोप लगाएका छन्।
आज बिहान सामाजिक सञ्जाल मार्फत उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उत्प्रेरक रहेको दाबी गर्दै उनले गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्ने बताएका छन् ।
‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनुपर्दछ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन,’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेज छानीछानी नष्ट गर्ने, ब्यक्तिका घर, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’
उनले जेनजी आन्दोलनमा घुसपैठ गरेकै कारण थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भएको दाबी पनि गरेका छन् । साथै, शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाण रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको बर्तौलाको जिकीर छ ।
उनले लेखेका छन्, ‘जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ। त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरि राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनु पर्छ।’




