‘रेपिड एक्सन’ टोलीलाई विपद् प्रतिकार्यमा जुट्न रास्वपाको निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण देशैभर जल उत्पन्न विपद्को जोखिम बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना रेपिड एक्सन टिमसहित सम्पूर्ण नेता-कार्यकर्तालाई प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले एक विज्ञप्ति जारी गर्दै मानवीय सेवा र सहयोगमा सक्रियतापूर्वक लाग्न आह्वान गरेका हुन् ।

विज्ञप्तिमा अर्यालले भनेका छन्, ‘विपद्को बेला मानवीय सेवा र सहयोगमा जुट्नु सबैको कर्तव्य हो । यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज-उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यसै विज्ञप्तिमार्फत् विशेष आह्वान गर्दछौं ।’

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेको औंल्याएको छ । विभागको यस चेतावनीसँगै रास्वपाले आफ्ना कार्यकर्तालाई सम्भावित बाढी, पहिरो र डुबानका घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देश गरेको हो ।

रास्वपाले जारी वर्षासँगै बढ्ने बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार सतर्क रहन र सोही अनुरूप कार्य गर्न गराउन सबैलाई आग्रह पनि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री