काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २३ र २४ गते देशभर भएका हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्न अपराधीहरूलाई उन्मुक्ति दिने सरकारी कदमको निन्दा गरेको छ । कांग्रेसले सरकारको यस्तो कार्यले दण्डहीनतालाई प्रोत्साहन मिल्ने भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा ती दुई दिनमा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र राष्ट्रलाई खरबौंको क्षति पुगेको उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनको आवरणमा केही आपराधिक समूहहरूले देशव्यापी आतंक मच्चाएका छन् । यस क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूमाथि सुनियोजित आक्रमण भएको देखिन्छ ।’
गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसकै आधारमा जारी परिपत्रले प्रमाणित अपराधीहरूलाई कानूनी कारबाही नगरी उन्मुक्ति दिने संकेत गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सरकारको यो कदम संविधानवाद, कानूनी शासन र विधिको शासनको खिल्ली उडाउने भएको आरोप लगाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट तत्काल पछि हट्न र घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न हामी जोडदार माग गर्दछौं ।’ कांग्रेसले प्रतिशोधपूर्ण राजनीति त्याग्न र सबै नेपाली नागरिकको सुरक्षा र न्यायको सुनिश्चितता गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
पार्टीले घटनाको प्रारम्भिक छानबिन सुरु नहुँदै आयोगको हवाला दिँदै नेताहरूको राहदानी रोक्का गर्ने र मुलुकभित्रको आवतजावतमा समेत प्रतिबन्ध लगाउने जस्ता कार्यहरू स्पष्ट राजनीतिक प्रतिशोधका उदाहरण भएको जनाएको छ । कांग्रेसले यस्ता कार्यहरूले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने भन्दै सरकारलाई सचेत गराएको छ ।





