काठमाडौं । नेपाली राजनीतिमा सामाजिक सञ्जालको प्रभाव झन्-झन् बढ्दै गएको छ । ‘नेपो बेबी’ ट्रेन्डले सत्ता समीकरणमा हलचल ल्याएपछि अहिले टिकटकमा अर्को नयाँ ट्रेन्डले चर्चा बटुलेको छ: ‘झोले एक्सपोज’ । यो ट्रेन्डको मुख्य निसाना नेकपा एमाले र विशेषगरी यसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बनेका छन् । युवा पुस्ता (जेन-जी) ले चलाएको यो अभियानले एमालेको ‘झोले’ अभियानलाई नै व्यंग्यको विषय बनाएको छ ।
केही समयअघि एमालेले ‘झोलाभित्र एकीकृत मार्क्सवाद–लेनिनवाद’ र ‘जबज’ (जनताको बहुदलीय जनवाद) को विचार समेटिएको भन्दै सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको थियो। तत्कालीन समयमा पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म यस अभियानमा सक्रिय देखिएका थिए। तर, अहिले जेन-जी समूहले त्यही ‘झोले’ अभियानलाई आधार बनाएर ‘झोले एक्सपोज’ ट्रेन्ड अघि बढाएको छ, जसले एमालेलाई नै नैतिक संकटमा पारेको छ।
जेन-जी आन्दोलनपछि राजनीतिक दलभित्र व्यापक पुनर्गठन र नेतृत्व परिवर्तनको माग उठिरहेका बेला ओलीले भने नेतृत्व नछाड्ने संकेत दिएका छन्। हाल उनी भक्तपुरको गुण्डुस्थित नयाँ घरमा बसिरहेका छन्, जहाँ उनलाई पार्टीकै पोलिटब्युरो सदस्य महेश बस्नेतको सुरक्षा उपलब्ध गराइएको बताइन्छ।
हालै, बस्नेतले ओलीसँग युवाहरूलाई फोटो सेसनमा सहभागी गराएका थिए। त्यसका साथै, राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्तालाई गुण्डुमा बोलाएर ‘आई लभ यु केपी बा’ को नारा लगाउन समेत लगाइएको थियो। यी घटनाक्रमहरूलाई जेन-जी कार्यकर्ताले गहिरो व्यंग्यका रूपमा लिएका छन् र यसैलाई आधार बनाएर ‘झोले’ भनेर संज्ञा दिएका छन्।
टिकटकमा #ExposeJhole ह्यासट्यागसहित फैलिएको यो ट्रेन्डले ओलीसँग फोटो खिच्ने वा ‘आई लभ यु’ जस्ता नारा लगाउने युवाहरूलाई ‘झोले’ को उपमा दिँदै बहिष्कार गर्ने रणनीति अख्तियार गरेको छ। विभिन्न समयमा ओलीसँग फोटो खिचेका व्यक्तिहरूलाई यस ट्रेन्डमार्फत सार्वजनिक (‘एक्सपोज’) गर्ने क्रम बढ्दो छ, जसले सामाजिक सञ्जालमा एमाले र विशेषगरी ओलीको जनमतमाथि थप दबाब सिर्जना गरेको छ ।




