पुराना दलहरुलाई टाउको उठाउन दिनु हुन्न : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले पुराना दलका नेताहरू सच्चिन नसक्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना पार्टीका नेताहरू नसच्चिने बताएका हुन्।

पुराना दल सच्चिन नसक्ने भएकाले नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रष्टिकृत भइसकेका दलहरूलाई कुनै पनि बहानामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न ।’ उनले थपे, ‘पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्। कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भावना देख्दिन । टाउको सम्म कुहिएर बसेको शक्तिको रूपान्तरण हुने सम्भावना म देख्दिन ।’

साथै उनले जेनजी आन्दोलनलाई ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् । दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको भनाइ छ । जेनजीको आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उनको भनाइ छ ।

‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नुभयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायित्व र सुशासन सुनिश्चित हुन सकेको छैन ।

उनका अनुसार देशमा स्थायित्व र सुशासनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको भनाइ छ । उनले भने ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन। यिनै भ्रष्टहरू चलखेल गरेर फेरि आउने र तपाईँहरूको बलिदान खेर जान्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री