सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनमा षड्यन्त्रकारी र विध्वंसकारी तत्वहरूको ठूलो घुसपैठ भएको गम्भीर आरोप लगाएका छन् । उनले यसै कारण आन्दोलन हिंसात्मक बनेको र मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको दाबी गरेका छन् ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति खड्काले भने, ‘भदौ २४ गते चार घण्टाको अवधिमा सिङ्गो देश जलाइएको छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत सबै संरचना ध्वस्त पारिएको छ । यो सुनियोजित विध्वंस हो।’
उनले आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु देउवामाथि आक्रमण भएको तथा पार्टीका ५० भन्दा बढी जिल्ला कार्यालयहरू र नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको जानकारी गराए । विशेष गरी, कोइराला निवास र गणेशमान सिंहको ऐतिहासिक चाक्सीबारी निवास खरानी भएको घटनालाई उनले नेपाली राजनीतिको विरासतमाथि भएको निर्मम प्रहारको संज्ञा दिए ।
खड्काले यस घटनाले मुलुकको अर्थतन्त्रमा समेत अपूरणीय क्षति पुगेको औंल्याए । उनले औद्योगिक क्षेत्रका ठूला उद्यमीहरूलाई अर्बौंको नोक्सानी भएको भन्दै, ‘हजारौँ मानिसलाई हायर गरेर ठूलो तयारीसहित नेपाल राज्यमाथि नै ठूलो विध्वंस गर्ने नियतसहित सबै कुरा भएको देखिन्छ’ भने ।
उपसभापति खड्काले यो घटनामा संलग्न दोषीहरूलाई पत्ता लगाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले नेपाली कांग्रेसले दसैंलगत्तै केन्द्रीय कार्यसमितिको बैठक आयोजना गर्ने र पार्टीभित्र तथा अन्य राजनीतिक दलहरूसँग संयमता, धैर्यता र एकता कायम गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले सबै दलका नेता कार्यकर्तालाई भड्काऊपूर्ण अभिव्यक्ति नदिन र समाजमा थप त्रास फैलाउने काम नगर्न आग्रह गरे ।




