काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाउँदै रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ । जेनजी आन्दोलनको क्रममा दमनमा संलग्न भएको आरोप लागेका दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई गृहमन्त्रालय पठाइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयनमा आउनेछ । रामेश्वर दंगाल गृह प्रशासनकै ‘क्याडर’ अधिकारी हुन् । रक्षासचिव नियुक्त हुनु अघि उनी विभिन्न समयमा गृह मन्त्रालय, प्रशासन तथा सुरक्षा संयन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
भिजिट भिसा प्रकरणमा नाम जोडिए पनि हालसम्म कानुनी उन्मुक्ति पाएका दुवाडी सरकार परिवर्तनपछि करिब डेढ सातासम्म गृहसचिवको जिम्मेवारीमा थिए । जेनजी आन्दोलनमा बल प्रयोग र दमनमा उनी नेतृत्व तहमा रहेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो । स्रोतका अनुसार, दुवाडीलाई राष्ट्रिय योजना आयोग सचिवालयमा सरुवा गरिएको छ ।
जेनजी आन्दोलनको दमनमा संलग्न गृह प्रशासनका अधिकारीमाथि छानबिन गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले गृहसचिवमै नेतृत्व परिवर्तन गरेको हो । मानवअधिकार आयोगसहित विभिन्न संघसंस्थाहरूले आन्दोलन दमनमा बल प्रयोगको औचित्य र वैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन् ।




