काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रस्तावित स्वास्थ्यमन्त्री डा. संगीता कौशल मिश्राको नाम मन्त्री बन्ने सूचीबाट हटाएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका कारण मिश्राको नाम काटिएको हो ।
प्रधानमन्त्री कार्कीले आइतबार पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाउनु भएको थियो, जसमा मिश्रको नाम पनि समावेश थियो । मन्त्रिपरिषद् स्रोतका अनुसार, ‘हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीकाे नाम मात्र पठाइएको छ । मिश्राको नाम हटाइएको छ ।’
अब आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ लिने भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको पद हाललाई रिक्त राखिएको छ । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा.मिश्रा नागरिकता र अनियमितता विवादमा तानिएकी थिइन् ।
यसअघि, प्रधानमन्त्री कार्कीको अन्तरिम सरकारमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा ओमप्रकाश अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा शपथ लिइसकेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन् । त्यसलगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ ।




