जेनजी प्रदर्शन : कांग्रेसको ४८ वटा कार्यालय र ९५ नेताको घरमा क्षति

काठमाडौँ । गत भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुर्‍याएको छ। पार्टीले आज सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रदर्शनकारीले कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति पुर्‍याएका छन् भने पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत ९५ जना नेताहरूको निवासमा आगजनी, तोडफोड र लुटपाट भएको छ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। कार्यालयका कुनै पनि सामान जोगिन नसकेको र करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। देशभरका पार्टी कार्यालय तथा नेताहरूको निजी सम्पत्तिमा भएको यो वितण्डाले कांग्रेसलाई भौतिक र नैतिक दुवै हिसाबले ठूलो धक्का पुर्‍याएको छ।

यस आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सबैप्रति कांग्रेसले पुनः श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग पनि गरेको छ।

कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन, विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ। यस घटनाले नेपाली राजनीतिमा थप तनाव उत्पन्न गरेको छ भने भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षले गम्भीर हुनुपर्ने सन्देश दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री