काठमाडौं । देशव्यापी आन्दोलनका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमित सम्पत्तिको दाबी भुक्तानी प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। संघले बीमितहरूलाई आन्दोलनका क्रममा भएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित बीमा कम्पनीमा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
संघका अध्यक्ष राजेन्द्र मल्लले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वर्तमान चुनौतीपूर्ण समयमा बीमाको महत्व झनै बढेको उल्लेख गर्दै बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन संघ कटिबद्ध छ।”
संघले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
आन्दोलनका कारण राष्ट्रपति भवन, संसद भवन, सुरक्षा निकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले यस संकटको घडीमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायहरूलाई आह्वान गरेको छ।
अध्यक्ष मल्लले बीमितहरूलाई आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू यथाशीघ्र बीमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउन सहयोग गर्न अपिल गर्नुभएको छ। उहाँले बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको जानकारी दिनुभयो।
२०७२ सालको भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियतालाई सकारात्मक र आशाजनक रूपमा हेरिएको अध्यक्ष मल्लले बताउनुभयो। यो पहलले संकटको घडीमा बीमितहरूलाई राहत प्रदान गर्ने र बीमा क्षेत्रको विश्वसनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




