डुङ्गेश्वरका लेखा अधिकृत कार्की १ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । सडक स्तरोन्नति परियोजनाको अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा अनुसन्धान अगाडि बढाएको थियो । प्राप्त उजुरी निवेदनमा लेखा अधिकृत कार्कीले डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग एक लाख घुस/रिसवत माग गरेको उल्लेख थियो ।

बिहीबार अख्तियारको टोलीले जिल्ला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगढी चोकबाट कार्कीलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार, कार्कीमाथि थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री