कृषि विकास बैंकद्वारा सातदोबाटो प्रहरी बिटलाई प्रविधि सहयोग, जनसेवा प्रवाहमा नयाँ ऊर्जा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महत्त्वपूर्ण कदम चाल्दै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सातदोबाटो प्रहरी बिटलाई आवश्यक प्रविधि उपकरणहरू सहयोगस्वरूप प्रदान गरेको छ। बैंकको यस सहयोगले प्रहरी सेवा प्रवाहलाई पुनः सुचारू, सहज र भरपर्दो बनाउन ठूलो टेवा पुगेको छ।

आज बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकले युपिएस (UPS), इनभर्टर र ब्याट्री हस्तान्तरण गरेको हो। यो सहयोगले प्रहरी बिटमा विद्युत आपूर्तिको सुनिश्चितता भई दैनिक कार्य सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

बैंकका उपमहाप्रबन्धक सुशील हुमागाँई, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्र बहादुर थापा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, प्रबन्धक बलिराम पुर्वे, युनियनका अध्यक्ष तथा महासचिवसहित अन्य कर्मचारीहरूको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो। यस कार्यक्रममा समाजसेवी तथा हास्य कलाकार किरण केसी (राता मकै), अन्य समाजसेवीहरू र प्रहरी नायब उपरीक्षकसहित प्रहरी कर्मचारीहरू समेत सहभागी भई कार्यक्रमको गरिमा बढाएका थिए।

बैंकले यस्ता सहयोगात्मक कार्यक्रमहरूमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै आएको जनाएको छ। सुरक्षा निकायको सेवा प्रवाहमा प्रत्यक्ष टेवा पुर्‍याउने उद्देश्य राखेको बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा सहभागीहरूले प्रहरी प्रशासनको पुनःस्थापना र जनसेवाको निरन्तरताका लागि यस्ता सहकार्यहरू अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गर्दै बैंकको यस पहलको प्रशंसा गरेका थिए। यस सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै बैंक र प्रहरी प्रशासनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री