काठमाडौं । जेनजी आन्दोलन उत्कर्षमा पुगेसँगै भदौ २४ देखि भर्चुअल माध्यममा सीमित रहेका प्रमुख राजनीतिक दलहरू बिस्तारै भौतिक रूपमा सक्रिय हुन थालेका छन् । विघटित संसद्का प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का गतिविधिहरू भर्चुअल माध्यमबाट बाहिर निस्केर सार्वजनिक रूपमा देखिन थालेका हुन् ।
प्रचण्डद्वारा पार्टी कार्यालय भ्रमण
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्दोलनपछि पहिलोपटक मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । जेनजी आन्दोलनले बढेको सुरक्षा चुनौतीका कारण सेनाको सुरक्षामा रहेका प्रचण्ड दुई दिनअघि मात्रै सैनिक घेराबाट बाहिर निस्केका थिए । पार्टी कार्यालयमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता तथा कार्यकर्तामाझ प्रचण्डले पार्टी कार्यालय भवन निर्माण गर्ने उद्घोष गरेका छन् । माओवादीका एक पदाधिकारीका अनुसार परिस्थिति सहज हुँदै गएको र अध्यक्षको पुनरागमनसँगै अब पार्टीका गतिविधिहरू तीव्र रूपमा अगाडि बढ्नेछन् ।
अध्यक्ष ओलीको सुरक्षा घेरा
प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै असुरक्षित महसुस गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली भने अझै सैनिक सुरक्षा घेरामै छन् । एमालेका महासचिव शंकर पोखरेललगायत सीमित नेताहरूसँग मात्रै उनको सम्पर्क रहेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महासचिव पोखरेलले अहिले पार्टीमा केन्द्र, प्रदेश र जिल्लासम्म समन्वयको काम गरिरहेका छन् । ‘संविधान दिवस (असोज ३) भव्य रूपमा आयोजना गरेर पार्टीलाई थप सक्रिय बनाउने तयारीमा छौँ,’ गौतमले भने, ‘पार्टी जीवन पहिलेको अवस्था (भदौ २३ अघि) मा पुग्न समय लाग्छ, हामी प्रयासरत छौँ ।’
कांग्रेसको आन्तरिक संघर्ष
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सैनिक अस्पतालमा उपचाररत रहेकाले भर्चुअल रूपमा समेत सक्रिय हुन सक्ने अवस्थामा छैनन् । यद्यपि, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भदौ २७ मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्चुअल माध्यमबाट बोलाएका थिए । प्रदेश सभापति, मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी उक्त बैठकले संसद् विघटन गर्ने राष्ट्रपतिको कदमको विरोध गरेको थियो । कांग्रेसले सबै दलसँग संवाद अघि बढाउने निर्णय गरे पनि पार्टीको आन्तरिक जीवनबारे ठोस निर्णय भने गर्न सकेन ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपाको भ्रमण गरेका छन् भने केन्द्रीय सदस्य प्रदीप पौडेलले जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेका छन् । तथापि, कांग्रेसको आन्तरिक पार्टी जीवन अझै पूर्ण रूपमा सक्रिय हुन सकेको छैन । ‘हाम्रो पार्टी अहिलेसम्म गम्भीर आघातको अवस्थामा छ,’ कांग्रेस नेता एनपी साउदले भने, ‘अब जेनजी आन्दोलनका मागलाई अपनत्व लिने र अन्य दलहरूसँग छलफल गरेर साझा धारणा बनाउन काम गर्नुपर्नेछ ।’
एकीकृत समाजवादीका नेताको अवलोकन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयसहित आन्दोलनका क्रममा क्षति पुगेका नेताहरूको निवासको अवलोकन गरेका छन् । उनले कोटेश्वरस्थित आफ्नै निवास, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता जीवनराम श्रेष्ठको निवासको अवलोकन गरेका थिए ।
उनले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेलसहित नेताहरू अग्नि खरेल र रघुजी पन्तको घरको समेत अवलोकन गरी नेताहरूसँग छलफल थालेका छन् । जेनजी आन्दोलनले ल्याएको राजनीतिक हलचलपछि दलहरू पुनर्गठन र पुनर्संरचनाको प्रयासमा जुटेका हुन् ।




