काठमाडौं । जेनजी प्रदर्शनका कारण विगत केही दिनदेखि बन्द रहेको नेपालको धितोपत्र बजार आगामी असोज २ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार रोक्का गर्न दिएको निर्देशनबमोजिम बजार बन्द हुँदै आएको थियो । लामो समयसम्म बजार बन्द रहँदा लगानीकर्तामा निराशा छाएको थियो भने बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को चौतर्फी आलोचना पनि भइरहेको थियो ।
अवस्था सहज भइसकेपछि पनि शेयर कारोबार बन्द राखिएको भन्दै लगानीकर्ता र सरोकारवाला निकायहरूले तत्काल बजार खोल्न माग गर्दै आएका थिए । सेबोनले मंगलबार पुनः निर्देशन जारी गर्दै धितोपत्रको दोस्रो बजार कारोबार साबिकबमोजिम सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिएको छ । सेबोनको यस निर्णयसँगै लगानीकर्ताहरूमा नयाँ उत्साह छाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको जानकारी दिए । यसले गर्दा लामो समयदेखि तरलतामा रहेका लगानीकर्ताहरूले कारोबार गर्न पाउनेछन् भने बजारमा नयाँ गतिशीलता आउने अपेक्षा गरिएको छ ।
बजार खुलेसँगै केही समयसम्म खरीदबिक्रीको चाप देखिन सक्नेछ । तर, जेनजी प्रदर्शनको प्रभाव र समग्र आर्थिक सूचकहरूले बजारको दिशा तय गर्नेछ ।




