काठमाडौं । अन्तरिम सरकारका मन्त्रीहरूले सरकारी सेवा सुविधा र तलबभत्ता नलिने घोषणा गरिरहँदा यसप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रीहरूको यो कदमलाई ‘जनतामा भ्रम छर्ने’ र ‘घमण्ड’ को संज्ञा दिएका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुँदै गर्दा विप्लव भने कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले मन्त्रीहरूको घोषणाप्रति कटाक्ष गरेका हुन् । उनले भने, ‘मन्त्रीहरूले सोमबार भाषण गरेको सुनेँ- म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’
विप्लव यतिमै रोकिएनन् । उनले भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाएको छ नि त । यो घमण्ड हो के। यो त जनतामा भ्रम छर्ने कुरा हो । यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’
विप्लवले यस्ता व्यक्तिहरूले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको आरोप लगाए । ‘हेर्नुस् धेरै कुराहरू छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ उनले भने । उनले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ,’ विप्लवको भनाइ थियो ।
विप्लवले नेताहरू जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा पनि असन्तुष्टि जनाए । ‘नेताहरू आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ उनले भने, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’
कार्यक्रममा विप्लवले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र अन्य मन्त्रीहरूलाई ‘राम्रो काम’ गर्न शुभकामना दिए । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईंले गर्नुस् न, अरू मन्त्रीहरूले पनि राम्रो गर्नुस्,’ उनले भने, ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’
सोही कार्यक्रममा नेकपाका महासचिव विप्लवले शहीद परिवार देवीमाया वि.क.लाई तीनकोठे घर हस्तान्तरण गरेका थिए । देवीमायाले सशस्त्र युद्धमा आफ्ना दुई छोरा राजु र शंकर गुमाएकी थिइन् । उनका लागि नेकपा कपिलवस्तुले घर निर्माण गरिदिएको थियो । घर हस्तान्तरण कार्यक्रममा विप्लवले शहीदका सपनालाई बोकेर हिँड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हाम्रो प्रतिबद्धता छ, अन्तिमसम्म हाम्रा शहीदहरूका सपनालाई बोकेर हिँड्ने, हाम्रो देशको भविष्यलाई बोकेर हिँड्ने हाम्रो चाहना छ । त्यो अनुसार नै हामीले मिहिनेत गर्छौं ।’
विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएका थिए । उनले ‘विद्रोह जेनजीको तर सरकार जेन एक्सको’ भएको टिप्पणी गरेका थिए ।




