‘रवि फोबिया’को छायामा रास्वपा, बढ्यो असन्तुष्टिको शृंखला र बहिर्गमन

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्तरिक किचलो र नेता कार्यकर्ताहरूको धमाधम बहिर्गमनको भुमरीमा फसेको छ । पार्टी स्थापनाको छोटो समयमै अप्रत्याशित सफलता हासिल गर्दै उदाएको रास्वपा अहिले आफ्नै ‘नेता फोबिया’ र नेतृत्वको कार्यशैलीका कारण विवादमा परेको हो ।

पूर्वमन्त्री सुमना श्रेष्ठले आइतबार पार्टी परित्यागको घोषणा गर्दै दिएको सार्वजनिक वक्तव्यले रास्वपाभित्रको गुम्सिएको असन्तुष्टि छताछुल्ल पारेको छ । सुमनाले भनेकी छन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’ उनले नेतृत्वको ‘कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने’ प्रवृत्तिको कडा आलोचना गरेकी छन् ।

‘रवि फोबिया’को छायामा रास्वपा
२०७९ को निर्वाचनमा ‘नो नट अगेन’ को नारा लिएर उदाएको रास्वपाले ११ लाखभन्दा बढी समानुपातिक मत र ७ प्रत्यक्ष सिट जित्दै संघीय संसदको चौथो शक्तिको रूपमा आफूलाई स्थापित गरेको थियो । यसको मुख्य श्रेय रवि लामिछानेको ‘लोकप्रियतावाद’ र उनको अनुहारलाई दिइन्छ । तर, त्यसयता रविकै कारण पार्टी निरन्तर विवादमा मुछिएको छ ।

नागरिकता विवाद, सर्वोच्च अदालतको फैसलापश्चात् अनागरिक बन्न पुगेको अवस्था, त्यसपछिको उपनिर्वाचन, दोहोरो राहदानी प्रकरण र सहकारी ठगी प्रकरणमा मुछिएपछि रास्वपाको छविलाई गम्भीर धक्का पुगेको छ।  यी हरेक प्रकरणमा रविले आफ्नो कमजोरी स्विकार्न नचाहेको र पार्टीले पनि उनको बचाउमै शक्ति खर्च गरेको आरोप सुमना श्रेष्ठसहित अन्य असन्तुष्ट नेताहरूको छ ।

असन्तुष्टिको शृंखला र बहिर्गमन
सुमना श्रेष्ठको राजीनामा रास्वपाभित्रको असन्तुष्टिको पछिल्लो कडी मात्र हो । उनले रवि लामिछानेको पक्राउविरुद्धको आन्दोलनमा समेत प्रश्न उठाएकी थिइन् र ‘संस्थामाथि व्यक्ति हावी हुँदा व्यक्ति जोगिँदैन र संस्था पनि रहँदैन’ भन्ने अडान राख्दै आएकी थिइन् । उनको यो फरक मतलाई पार्टीले ‘मिडिया ट्रायल’ मार्फत दबाउन खोजेको आरोप पनि उनले लगाएकी छन् ।

श्रेष्ठभन्दा अगाडि रास्वपाबाट को को बाहिरिए ?

  • पारस बाहुन : सुदूरपश्चिमका संस्थापक सभापति तथा पूर्वमहामन्त्री ।

  • भविलाल चापागाईं : बागमती प्रचारप्रसार समितिका उपप्रमुखले ‘तपाईं हामीले सोचेजस्तो रास्वपा छैन है हजुर’ भन्दै असन्तुष्टि पोखेका थिए ।

  • रमेश खरेल : नेपाल प्रहरीका पूर्व डीआईजी र चर्चित अनुहार । सहकारी प्रकरणमा रवि लामिछाने गृह मन्त्रालय सम्हाल्दा ‘स्वार्थको द्वन्द्व’ प्रष्ट देखिएको भन्दै उनले पार्टी परित्याग गरेका थिए ।

  • सुमन सुवेदी : प्यूठान संयोजक ।

  • राजकुमार न्यौपाने : मकवानपुरका संस्थापक अध्यक्ष ।

  • धर्मेन्द्र सापकोटा : चितवन सभापति ।

  • हेमन्त बराल : रवि लामिछानेका सीईओ ।

  • अनिल केशरी शाह : चर्चित बैंकरले पार्टी त्याग नगरे पनि प्रशिक्षण विभागको जिम्मेवारी फिर्ता गरेका छन् ।

  • डा. अरनिको पाण्डे : केन्द्रीय सदस्यसहित धेरै व्यक्तिहरूले पार्टी परित्याग गरिसकेका छन् ।

यी बहिर्गमन र असन्तुष्टिहरूले रास्वपाको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । एकातिर पार्टी नेतृत्वले रविको पक्षमा हस्ताक्षर अभियान चलाइरहेको छ भने अर्कोतर्फ नेताहरू धमाधम पार्टी छाडिरहेका छन् । ‘मिसन-८४’ का नाममा देशभर अभियान चलाउँदै आएको रास्वपाले आन्तरिक एकता कायम राख्दै आफ्नो लोकप्रियता जोगाउन सक्ला या नसक्ला, यो हेर्न बाँकी नै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री