काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा आफ्ना विभिन्न कार्यालयबाट चोरी तथा लुटपाट गरिएका सामग्रीहरू तत्काल फिर्ता गर्न अल्टिमेटम दिएको छ । आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई सीसीटीभी फुटेजका आधारमा पहिचान गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।
आयोगका इटहरी, पोखरा, हेटौंडा र बुटवल लगायतका मातहतका कार्यालयहरूबाट सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टेलिभिजन, कम्प्युटर सेट, माइक्रोओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आईप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखालगायतका महत्वपूर्ण जिन्सी सामानहरू चोरी तथा लुटपाट भएको आयोगले जनाएको छ ।
आयोगले सूचनामा भनेको छ, ‘तोडफोड तथा चोरीमा संलग्नहरूको सीसीटीभी फुटेज मार्फत् पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहतका परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्रीहरू काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगालमा र आयोगका मातहतका कार्यालयहरूको हकमा सम्बन्धित कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा लगेर बुझाइदिनु हुन अनुरोध छ ।’




