काठमाडौं । पश्चिम मकवानपुरको राक्सिराङ-१, इन्द्रुङमा एउटा पिछडिएको चेपाङ दम्पतीमाथि भएको अमानवीय अत्याचारको भएको छ । जंगल नजिकैको एकान्त छाप्रोमा बस्दै आएका ती दम्पतीमाथि भएको जघन्य अपराधको खबर ढिलोगरी बाहिर आएको हो ।
गत भदौ २६ गते राति भएको यस घटनामा पति (नाम परिवर्तन) लाई रुखमा बाँधेर दुई महिनाअघि मात्रै सुत्केरी भएकी उनकी पत्नीमाथि बलात्कार भएको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहका अनुसार, खबर प्राप्त भएपछि तत्कालै उजुरी दर्ता गरिए पनि जेन्जी आन्दोलनका कारण गाउँमा पुग्न ढिलाइ भएको थियो । प्रहरीले आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई नियन्त्रणमा लिएको छ ।
पीडित दम्पती राम्रोसँग बोल्न पनि सक्दैनन् र उनीहरूको आफ्नै घर पनि छैन । काम नपाएपछि भोकै रहेको खबर पाएपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले चामल, दाल, तेल, नून, त्रिपाल र कम्बल लगायतका राहत सामग्री प्रदान गरेको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले यस्तो दयनीय अवस्थामा रहेको परिवारमाथि यस्तो जघन्य अपराध हुनु अमानवीय भएको बताए ।
प्रहरीले बलात्कारको आरोपमा स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज सिंहका अनुसार, पीडित चेपाङ परिवारले थिङबाटै यो कुकर्म भएको बताएपछि वडा कार्यालयको समन्वयमा उनलाई पक्राउ गरी मनहरी इलाका प्रहरी कार्यालय पठाइएको छ । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गाउँपालिका अध्यक्ष मल्लका अनुसार आन्दोलनका कारण प्रहरी तत्काल गाउँ जान नसकेको मौका छोपी यो घटना भएको हो ।
दम्पतीको अवस्थाप्रति बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको पनि ध्यान पुगेको थियो । खोरियाको डिलमा सानो छाप्रोमा जीवन बिताइरहेका मकवानपुर १ को परिवारका लागि मुख्यमन्त्री बानियाँले दशैँअघि नै व्यक्तिगत खर्चमा दुई कोठा, एउटा भान्सासहित शौचालय र बाथरुम भएको घर बनाइदिने प्रतिबद्धता जनाएका थिए ।




