काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जेन-जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र भौतिक संरचना तथा दस्ताबेज नष्ट हुनुमा वर्तमान सरकारको ‘अहंकार, नालायकी र कुशासन’ लाई जिम्मेवार ठहराएको छ। शुक्रबार उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाद्वारा जारी संयुक्त विज्ञप्तिमा आन्दोलनका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ।
विज्ञप्तिमा जेन-जी पुस्ताको आन्दोलनलाई देशको भविष्यप्रतिको आकांक्षा, इमानदार सोच र परिवर्तनप्रतिको दृढ चाहनाको अभिव्यक्तिका रूपमा हेरिएको छ। यसलाई जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतका ऐतिहासिक आन्दोलनहरूको निरन्तरताका रूपमा पनि व्याख्या गरिएको छ।
तर, माओवादी केन्द्रले आन्दोलनभित्र प्रतिगामी तत्वहरू प्रवेश गरी विध्वंस मच्चाएको र यसले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्ताबेज नष्ट हुन पुगेका छन्।”
पार्टीले संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखिएका त्रुटिहरूको स्वीकारोक्ति र गम्भीर समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिएको छ। लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशिता र धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिहरूको संरक्षण गर्नु सबैको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।
माओवादी केन्द्रले मुलुकलाई नयाँ जनादेशमा लैजानका लागि संघीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गर्नुलाई वैधानिक र उपयुक्त विधि मानेको छ। आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको उनीहरूको ठहर छ।
नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु पर्ने, ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने र सुशासन कायम गर्दै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानुन बनाएर इमानदारीपूर्वक कार्यान्वयन गर्न सकेमा जेन-जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसाबले अगाडि बढ्नु श्रेयस्कर हुने बताइएको छ।
विज्ञप्तिमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा जीवन गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, यस्ता प्रतिगामी हर्कतहरूका विरुद्ध परिवर्तन र अग्रगमनका पक्षधर शक्तिहरूलाई एकजुट हुन समेत माओवादी केन्द्रले अपिल गरेको छ।



