उपत्यकामा कर्फ्युको प्रभाव : बैंक तथा वित्तीय संस्था र सेयर कारोबार बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएसँगै बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार पनि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले शान्ति सुव्यवस्था कायम राख्न भन्दै निश्चित क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन लगायतका गतिविधिमा रोक लगाएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लागू हुने प्रशासनले जनाएको छ ।

यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका वडा नं. २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरेको छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेका अनुसार कर्फ्यु लागेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू खुल्ने छैनन् । तर, बैंकका डिजिटल सिस्टममा काम गर्ने कर्मचारीहरू भने बैंकमा गएर आन्तरिक रूपमा काम गर्न सक्नेछन् । न्यौपानेले भने, ‘सकेसम्म कर्फ्यु लागेको क्षेत्रमा शाखा, एटीएममा कर्मचारीहरू नजान नै भनिएको छ । कहिलेकाहीँ अत्यावश्यक परेको छ भने स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ । सकेसम्म नजाने नै हो ।’

राष्ट्र बैंकको अत्यावश्यक पेमेन्ट सिस्टम र आईटी सम्बन्धी काम भने सुचारु रहने उनले बताए । ‘कर्फ्यु लागेको क्षेत्रमा आवतजावत नै बन्द गरेपछि नखुल्ने हो । तर, बैंक तथा वित्तीय संस्थाको केन्द्रीकरण भएको हुँदा आन्तरिक रूपमा डिजिटलको काम भने चल्छ,’ उनले भने ।

सेयर कारोबार स्थगन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि आजका लागि सेयर कारोबार स्थगन गरिएको छ । नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र कर्फ्यु जारी गरेको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताहरूले कारोबार स्थगन गर्न अनुरोध गरेको हुँदा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार स्थगन गरिएको हो । यसैबीच, नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाइएको छ ।

प्रशासनद्वारा जारी सूचनामा कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री