काठमाडौंमा कर्फ्युको समय बढ्यो, यी क्षेत्रमा पूर्ण प्रतिबन्ध (आदेशसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु अब मंगलबार बिहान ५ बजेसम्मका लागि बढाइएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार, शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर, नारायणहिटी दरबार सङ्ग्रहालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी रहनेछ । यी क्षेत्रहरूमा सर्वसाधारणको आवागमन पूर्ण रूपमा निषेध गरिएको छ ।

विशेष गरी, नयाँ बानेश्वर क्षेत्रमा कर्फ्युको दायरा फराकिलो बनाइएको छ । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वमा मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरमा आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणमा शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यु आदेश लागू हुनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्युको घोषणा गरेको थियो । शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी यो आदेश जारी गरिएको प्रजिअ रिजालले स्पष्ट पारेका छन् ।

काठमाडौँमा हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिनका लागि प्रशासनले यो कदम चालेको बुझिएको छ । सर्वसाधारणलाई तोकिएको समय र क्षेत्रमा आवागमन नगर्न र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री